काठमाडौं
नेपाली फुटबल समर्थकहरु माझ लाेकप्रिय रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी माेफसलमा जाने भएका छन् ।
अल्मुताइरीले आइतबार सामाजिक संजालमार्फत आफू माेफलसलमा जान लागेकाे बताएका छन् । उनले पाँचौं संस्करणको झापा गोल्डकपको फाइनल खेल हेर्नका लागि सोमबार झापा जान लागेकाे उल्लेख गरेका छन् ।
झापा गोल्डकपको फाइनल खेलमा फागुन ३० गते अर्थात भाेलि सोमबार आयोजक झापा ११ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
झापाको विर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा हुने यी दुई टोलिबीचको फाइनल खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ । प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनी खेल अवधिभर मैदानमा रहने छन् ।
कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो ।
एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाह नेपाली टिमका हालसम्मका सफल प्रशिक्षक हुन् । उनले नेपाललाई थ्री नेसन्स कपको उपाधि समेत दिलाएका थिए ।
कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यु–२३ र किर्गिस्तान यु–१७ टिमसँग काम गरिसकेका छन् ।
झापा ११ फुटबल क्लबको आयोजनमा जारी प्रतियोगिताको विजेता टोलीले नगद १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेताले नगद ६ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।
त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने छ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ पाउनेछन् ।