हेटौँडा ।
हेटौँडाको पिप्ले युवा क्लबले छैठौं राजर्षी गोल्डकपको उपाधि जितेका छन् । साविक विजेता पिप्लेले सडन डेथमा मच्छिन्द्रलाई पराजित गरेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउट ३–३ गोलको बराबरी भएपछि सडन डेथको पहिलो प्रहारमै पिप्ले विजयी भएको हो ।
सडन डेथमा मच्छिन्द्रका छिरिङ गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाले प्रहार गरेको गोल नै निर्णायक सावित भयो ।
विजेता पिप्लेले नगद १० लाख रुपैँया सहित शिल्ड, मेडल साथै प्रमाणपत्र प्राप्त गरेका छन् भने मछिन्द्रले ५ लाख रुपैँया प्राप्त गरेका छन्।
फाइनल खेलको म्यान अफ द म्याच अशोक बराल घोषित भएका छन् ।
प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुप बहादुर लामा घोषित भएका छन् । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् भने प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका बिमल घर्ती मगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भएका छन् ।













