सर्वाधिक विकेट लिने सूचीकाे दोस्रोमा उक्लिए सन्दीप, यस्तो छ अन्य बलरको स्थान

Image

काठमाडौं ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल, पपुवा न्यूगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी–२० सिरिजमा ६ म्याच सकिसकेका छन् । फाइनल खेल्नुअघि नेपाली टिमका कप्तान सन्दीप लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् ।

शनिबार मलेसियाविरुद्ध ३ विकेट लिएसँगै उनी दोस्रो स्थानमा उक्लिएका हुन् । सन्दीपले ४ खेलमा ६.५६ को इकोनमीमा ९ विकेट लिएका छन् । जारी सिरिजमा उनको उच्च बलिङ प्रदर्शन ४ ओभरमा १९ रन दिएर ३ विकेट लिनु हो ।

सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा भने नेपाली टिमका तीव्र गतिका बलर करण केसी छन् । उनले ४ खेलमा ८.४१ को इकोनमीमा सर्वाधिक १० विकेट लिएका छन् । जसमा करणको एक ह्याट्रिक पनि समावेश छ । उनले पिएनजीविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएका थिए । करण चौथो खेलमा मलेसियाविरुद्ध भने विकेटविहीन रहे ।

यो श्रृंखलामा उनको उत्कृष्ट बलिङ प्रदर्शन ३.४ ओभरमा ५ विकेट लिएर २१ रन दिनु हो । त्यस्तै, यो सूचीको तेस्रो स्थानमा पिएनजीका काबुआ मोरिया छन् । उनले ३ खेलमा ८.१८ को इकोनमीमा ७ विकेट लिएका छन् ।

जारी सिरिजमा मोरियाको उच्च बलिङ स्पेल ४ ओभरमा २९ रन दिएर ४ विकेट लिनु हो । सर्वाधिक विकेट लिने मामलामा चौथो स्थानमा मलेसियाका वीरन्दीप सिंह रहेका छन् । उनले ४ खेलमा ८.६६ को इकोनमीमा ६ विकेट लिएका छन् ।

त्यस्तै, पाँचौं र छैटौं स्थानमा नेपालका अविनाश बोहरा र मलेसियाका मोहम्मद वाफिक रहेका छन् । यी दुवै बलरले समान चार खेलमा ५/५ विकेट लिएका छन् । अविनाशले ६.८५ र वाफिकले ७.७८ को इकोनमीमा ५/५ विकेट हात पारेका हुन् ।

सर्वाधिक विकेट लिने मामलामा सातौं, आठौं, नवौं र दशौं स्थानमा क्रमशः रिले हेकुरे (४), शर्विन मुनियान्दी, (४) नोर्मन भानुआ (४) र दीपेन्द्रसिंह ऐरी (३) रहेका छन् । सोमपाल कामी ३ विकेटका साथ यो सूचीको ११ औं स्थानमा छन् ।

यो पनि पढौं– ‘त्रिकोणात्मक सिरिजमा’ सर्वाधिक रनकर्ता : शीर्षमा उक्लिए दीपेन्द्र, यस्तो छ अन्यको स्थान