त्रिकोणात्मक सिरिज फाइनल : नेपालको प्लेइङ–११ मा एक खेलाडी परिवर्तनको सम्भावना

Image

काठमाडौं ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्दैछ । नेपाल र पिएनजीबीचको खेल सोमबार मध्यान्ह १२ः३० देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । नेपाल सिरिजको चारवटै खेल जितेर फाइनलमा पुगेको हो ।

पिएनजी भने चारमध्ये एक खेल मात्र जितेर फाइनल प्रवेश गर्न सफल भयो । उसले सिरिजमा नेपालसँगको दुई खेलमा हार बेहोर्दा चौथो खेलमा मलेसियालाई भने ८ विकेटले हरायो । पिएनजीले फाइनल पुग्नुअघि अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार ब्याटिङ गर्‍यो ।

सो खेलमा उसले मलेसियाले दिएको १९७ रनको विशाल लक्ष्य १७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । शानदार लयमा फर्किएको पिएनजी एकदिवसीयपछि त्रिकोणात्मक टी–२० श्रृंखला पनि जित्न चाहन्छ । उसले टी–२० अघि नेपालविरुद्धको दुई खेलको वानडे सिरिज क्नि स्विप गरेको थियो ।

नेपाल भने पिएनजीविरुद्ध बदला लिने योजनामा छ । नेपालले पनि जारी सिरिजमा राम्रो प्रदर्शन गरिरहेको छ । यही श्रृंखलाअन्तर्गत नेपालले पहिलो खेलमा पिएनजीलाई ३७ र दोस्रो खेलमा १५ रनले हराएको थियो । नेपाल फाइनलमा पनि सोही लय कायम राख्न चाहन्छ ।

फाइनलमा नेपालले एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । कमलसिंह ऐरीको स्थानमा सोमपाल कामी प्लेइङ–११ मा फर्किने छन् । कमलले चोटका फाइनल गुमाएका छन् । नेपालले शनिबार मलेसियाविरुद्धको खेलमा सोमपाललाई विश्राम दिएको थियो ।

फाइनलमा पिएनजीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, दिलीप नाथ (विकेटकीपर), मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र अविनाश बोहरा ।

यो पनि पढौं– सर्वाधिक विकेट लिने सूचीको दोस्रोमा उक्लिए सन्दीप, यस्तो छ अन्य बलरको स्थान