विश्वकप खेलेर स्वदेश फर्किएपछि यस्तो भन्छन् सन्दीप लामिछाने

Image

काठमाडौँ । आईसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप शनिबारमात्रै नेपाल आइपुगेका हुन्।

सन्दीपले लामो समयपछि क्रिकेट मैदानमा पाइला राख्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको बताएका छन्। शनिबार दिउँसो स्वदेश फर्कने क्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्।

उनले विश्वकपको अनुभव सेयर गर्दै भनेका छन्, ‘धेरै लामोसमयपछि क्रिकेटमा पाइला राख्दा आफैँले डेब्यू गरेजस्तो लाग्यो।’ उनले आफ्नो विश्वकपको अनुभव मेमोरेबल(सम्झनलायक) रहेको पनि सुनाए।

‘हामी विश्वकपको यात्रामा कहाँ निर चुक्यौँ भन्ने हामी सबैलाई थाहा छ। त्यो धेरै कोट्याइराख्नुपर्ने जरुरी मलाई लागेको छैन। हामीले अझै धेरै गर्नुपर्नेछ,’ लामिछानेले भने। उनले बाहिर बसेर बोल्नुजति सहज खेल्न नहुने पनि बताए।

अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्। शनिबार उनी एअर अरेबियाको फ्लाइटबाट क्यानडा हुँदै नेपाल आइपुगेका हुन्।   अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर क्रिकेट टोलीका सदस्यहरू दुई समूहमा बाँडिएर नेपाल फर्किएको थियो।

सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको थियो।

उनीहरू अमेरिकाबाट सिधै नेपाल आएका थिए। तर, अमेरिकाले भिसा नदिएकै कारण सन्दीप विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा भएका खेलमा मात्र सहभागी हुन पाएका थिए।

१४ वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।

तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपबाट यात्रा टुंग्याएको थियो।