काठमाडौं । जुलाई महिनामा हुने फोर नेसन्स कप फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टिम सहभागी नहुने भएको छ । अघिल्लो महिना नै आयोजक लेबनानले नेपाललाई समेत सामेल गराएर प्रतियोगिताको तालिका तय गरेको थियो ।
तर नेपालले अन्तिम समयमा असुरक्षित रहेको भन्दै सो देशमा गएर प्रतियोगितामा भाग लिन अस्वीकार गरेको हो । लेबनान अहिले कुनै न कुनै रूपमा युद्धको जोखिममा रहेको देश हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार नेपालले प्रतियोगितामा भाग लिने भनेर आधिकारिक पत्राचार गर्न बाँकी रहे पनि नेपालले फोर नेसन्स कप नखेल्ने भएको छ । नेपाल यो प्रतियोगितामा भाग लिन नजानुको कारण युद्धको जोखिम र सम्भावित समस्या नै हुन् ।
नेपालले यो प्रतियोगितामा लागि आफ्नो टोली समेत घोषणा गरेर तयारी गरिरहेको थियो । तर प्रतियागिता आउन लाग्दा नेपाल प्रतियोगिताबाट बाहिर हुने अवस्थामा पुगेको हो ।

















