टी-२० आईबाट सन्न्यासको घोषणा गर्दै यस्तो भन्छन् विराट कोहली

Image

काठमाडौं । भारतीय क्रिकेट टोलीका एक महान् ब्याटर विराट कोहलीले टी-२० आइतबाट सन्न्यासको घोषणा गरेका छन् । आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी-२० आई नखेल्ने घोषणा गरेका हुन् ।

भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्नेक्रममा उनले यो आफ्नो अन्तिम टी-२० आई खेल भएको बताएका थिए । उनले भने  ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ,’ उनले भने, ‘यो भारतका लागि मेरो अन्तिम ट्वान्टी–२० विश्वकप खेल थियो। हामी यसलाई हासिल गर्न चाहन्थ्यौं।’

बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

३५ वर्षीय उनले भारतबाट १२५ टी-२० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए । उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी-२० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी-२० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।

यो पनि : भारतलाई उपाधि जिताएसँगैं कप्तान रोहितको सन्न्यासको घोषणा

यो पनि : यी तीन खेलाडी जसले एक खेल नखेली जिते विश्वकप