नेपालसहित यी ६ देशले जिते आईसीसी डेभलपमेन्ट अवार्ड

Image

काठमाडौं । आईसीसीले नेपालसहित ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ । आईसीसीको एसोसियट देश मध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ ।

ग्लोबल आईसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस्, युएई र स्कटल्याण्ड रहेका छन् ।

जसमा मेक्सिकोले आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ ।

त्यस्तै नेदरल्याण्डसले आइसीसी एसोसियटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने युएईले आईसीसी एसोसियटस मेम्बर वोमन्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ ।

त्यस्तै नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अवार्ड जितेको छ भने स्कटल्याण्डले क्रिकेट फर गुड इनिसियटिभ इम्प्याक्ट अफ द इयर अवार्ड जितेको छ ।

यस्तै नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहेका पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गरेका छन् ।

‘यसले हाम्रा शुभेच्छुक, फ्यानलगायत क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ । जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,’ खड्काले भनेका छन्, ‘महिला, पुरुष दुवै खेलको प्रवर्द्धन गरेर, हामी ऊर्जावान, समावेशी माहोल सिर्जना गरेर जीवन्त क्रिकेट संस्कृतिको विकास गर्ने प्रयास गरिरहेका छौं ।’

खड्काले क्यानले लिएको डिजिटल रणनीतिले फ्यानहरूलाई थप नजिक बनाउन भूमिका खेलेको बताएका छन् । उनले भनेका छन्, ‘यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीलाई खेलको विकास र हाम्रा प्रशंसकहरूलाई संलग्न गराउने हाम्रो मिसन जारी राख्न प्रेरित गर्नेछ ।’