काठमाडौं । आइसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजमा इंग्ल्याण्ड विजयी भएको छ । जीतसँगै इंग्ल्याण्ड तालिकाको छैटौं स्थानमा उक्लिएको छ । उसको ४५ अंक भएको छ । वेस्टइन्डिज भने १६ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।
इंग्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेल २४१ रनले जितेको हो । इंग्ल्याण्डले दिएको ३८५ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले खेलको चौथो दिन १४३ रन मात्र बनाएपछि इंग्ल्याण्ड २४१ रनले विजयी भयो।
यसअघि इंग्ल्याण्डले आफ्नो पहिलो इनिङमा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४५७ रन बनाएको थियो । त्यस्तै इंग्ल्याण्डले दोस्रो इनिङमा ४२५ रन बनाएको जवाफमा वेस्ट इन्डिज १४३ रनमा अल आउट भएको थियो ।
यस खेलमा इंग्ल्याण्डको पहिलो इनिङमा १२१ र दोस्रो इनिङमा ५१ रन बनाएका ओली पोप प्लेयर अफ द म्याच बनेका छन् ।यस अघि खेलेको पहिलो टेस्ट इंग्ल्याण्डले एक इनिंग र ११४ रनले जितेको थियो ।
यो जितपछि इंग्ल्याण्ड तीन खेलको सिरिजमा २-० ले अगाडी भएको छ । ह्यारी ब्रुकले रुटसँग चौथो विकेटका लागि १८९ रन जोडे। ब्रुकले १३ चौका सहित १०९ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।
यसपछि इंग्ल्यान्डले नियमित अन्तरालमा विकेट गुमायो तर जो रुटले आफ्नो टेस्ट करियरको ३२ औं शतक प्रहार गरे । यस शतकीय पारीमा उनले धेरै ठूला कीर्तिमान आफ्नो नाममा बनाए, जसमा उनले स्टिभ स्मिथ, केन विलियम्सनको शतकको बराबरी गरेका थिए भने वेस्ट इन्डिजविरुद्ध छैटौं शतक पनि बनाएका थिए ।
जो रुटले १० चौका सहित १२२ रनको उत्कृष्ट इनिङ खेले । इंग्ल्याण्डको टोली दोस्रो इनिङ्समा ४२५ रनमा अलआउट भएको थियो र वेस्ट इन्डिजलाई ३८५ रनको कठिन लक्ष्य दिएको थियो ।
पाहुना टोलीले राम्रो सुरुवात गरेको र ओपनरले पहिलो विकेटका लागि ६१ रन जोडे पनि त्यसपछि इंग्ल्याण्डका बलरले एकपछि अर्को विकेट लिए । पहिलो विकेटका लागि उत्कृष्ट साझेदारीपछि वेस्ट इन्डिजले ८२ रनमा १० विकेट गुमाउँदा सम्पूर्ण टोली १४३ रनमा ढलेको थियो । वेस्ट इन्डिजका लागि क्रेग ब्राथवेटले सर्वाधिक ४७ रन बनाए ।
२० वर्षीय शोएब बशीरले आफ्नो नाममा ५ विकेट लिएर ट्रेन्ट ब्रिज मैदानमा स्पिन बलरबाट ५ विकेट लिने कीर्तिमान बनाएका छन् । सन् २००६ मा मुथैया मुरलीधरनले ८ विकेट लिएका थिए ।
क्रिस वोक्स र गुस एटकिन्सनले २-२ विकेट लिए भने मार्क वुडले १ विकेट लिए । सिरिजको लगातार दोस्रो खेल जित्दै इंग्ल्याण्डले रिचर्ड्स-बोथम ट्रफी जितेको छ । अब दुई टोलीबीचको सिरिजको अन्तिम खेल २६ जुलाईबाट बर्मिङ्घमको मैदानमा हुनेछ ।

















