काठमाडौं । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवर नाईट्सले मोन्ट्रियल टाईगर्सबाट १ सय ४५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो ।
टाइगर्सका लागि कोरबिन बोसले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । दिलप्रित बाज्वाले ३३ रन बनाए । अजमतुल्लाह उमरजाईले २७, र आयान खानले अविजित १६ रन बनाए ।
नाइट्सका लागि डिवान प्रिट्रोरियस र मोहम्मद अमिरले समान २, जेरेमी गोर्डन र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
नाइट्सले दुई खेल खेल्दा कुनै अंक जोड्न सकेको छैन । टाइगर्सलाई पराजित गरेर नाईट्स पहिलो जितको खोजीमा रहेको छ ।
यस्तो रह्यो सन्दीपको ४ ओभर
११ औं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले त्यस ओभरमा २ बल डट राख्दै ५ रन खर्चिए । पहिलो दोस्रो बलमा समान १ रन खर्चिएका लामिछानेले तेस्रो बल डट राखेका थिए । ओभरको चौथो बलमा अफगानी ब्याटर अजमतुल्लाह उमरजाईले २ रन बनाए । पाँचौ बल पुनः डट राखेका सन्दीपले अन्तिम बलमा १ रन खर्चिए ।
सन्दीपले आफ्नो दोस्रो ओभर १३ औं ओभरमा लिएर आएका थिए । यस ओभरमा सन्दीपले १ विकेट लिनुका साथै ८ रन खर्चिएका थिए । पहिलो र दोस्रो बलमा सन्दीपले समान १ रन खर्चिएका थिए । ओभरको तेस्रो बलमा सन्दीपलाई दिलप्रित बाज्वाले छक्का प्रहार गरे । चौथो बल डट राखेका सन्दीपले पाँचौ बलमा बाज्वालाई बोल्ड आउट गरे । ओभरको अन्तिम बलमा सन्दीपले कुनै रन खर्चिएनन् ।
सन्दीपले खेलको १५ औं ओभरमा आफ्नो तेस्रो ओभर गरेका थिए । यस ओभरमा उनले ७ रन खर्चिएका थिए । सुरुआती ३ बलमा समान १ रन खर्चिएका सन्दीपले चौथो बल डट राखे । पाँचौ बलमा कोरबिन बोशले सन्दीपलाई चौका प्रहार गरे । ओभरको अन्तिम बलमा सन्दीपले कुनै रन खर्चिएनन् ।
खेलको १७ औं ओभरमा सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका थिए । यस ओभरमा सन्दीपले रन खर्चिएका थिए । ओभरको पहिलो दुई बल डट राखेका सन्दीपले तेस्रो बलमा १ तथा चौथो बलमा २ रन खर्चिए । पाँचौ बल डट राखेका सन्दीपले अन्तिम बलमा १ रन खर्चिए ।सन्दीपले यस खेलमा ४ ओभरमा २४ रन खर्चिएर १ विकेट लिए । यसमा उनले १० बल डट राखेका थिए ।