पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार

Image

काठमाडौं । नेपाली खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा लगातार दोस्रो हार बेहोरेका छन् । पेरिसमा भएको खेलमा आयरल्यान्डका नाट गुयेनसँग २–० सेटले पराजित भएका हुन् ।

कमजोर प्रदर्शन गरेका प्रिन्स २१–७ र २१–५ ले पराजित भए । योसँगै उनको दोस्रो चरण सम्भावना समाप्त भएको छ । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोश्रो सेट जित्न १८ मिनेट खर्चे ।

समूह ‘पी’ को पहिलो खेलमा प्रिन्सले विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सेल्सनसँग २–० सेटको हार ब्यहोरेका थिए । अब, तेस्रो खेल बुधबार राति इजरायलका मिसा गिल्बरम्यानसँग हुनेछ ।

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाएका हुन् । उनी ओलम्पिक खेल्ने पहिलो ब्याडमिन्टन खेलाडी हुन् ।