पेरिस ओलम्पिकमा पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा, अब कसको भिडन्त को सँग ?

Image

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आयोजक फ्रान्स शतप्रतिशत जितसहित क्वाटरफाइनलमा प्रवेश गर्दा स्वर्ण दाबेदारहरू अर्जेन्टिना र स्पेन पनि अन्तिम आठमा पुगेका छन् ।

एसियाली राष्ट्र जापानले पनि समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ । समूह ए बाट आयोजक फ्रान्ससँगै अमेरिका, समूह बी बाट मोरक्को र अर्जेन्टिना, समूह सी बाट इजिप्ट र स्पेन तथा समूह डी बाट जापान र पाराग्वेले अन्तिम आठमा स्थान बनाएका हुन् ।

गएराति भएको खेलमा फ्रान्सले न्युजिल्याण्डलाई ३-० ले हराएर समूह ए को विजेता बन्यो । फ्रान्सले ३ खेलबाट ९ अंक जोड्यो । यस्तै गिनीलाई ३-० ले हराएर अमेरिका समूह ए को उपविजेता बन्दै नकआउट चरण पुगेको हो ।

समूह बी मा अर्जेन्टिनाले युक्रेनलाई २-० ले हराउँदै समूह उपविजेता बन्यो । अर्को खेलमा इराकलाई ३-० ले पराजित गरेको मोरक्को समूह बी को विजेता बन्यो ।

अर्जेन्टिना पहिलो खेलमा मोरक्कोसँग पराजित भएपनि त्यसपछि लगातार दुई खेल जित्दै नकआउट चरण पुगेको हो । दुवैको समान ६ अंक भए पनि मोरक्को हेड टु हेडमा अघि रहेको हो ।

यस्तै समूह सी मा यसअघि नै क्वारफाइनल पुगिसकेको स्पेनलाई २-१ ले पराजित गर्दै इजिप्ट समूह विजेता बन्यो । इजिप्टले ३ खेलबाट ७ अंक जोड्दा स्पेनले ६ अंक जोड्यो ।

समूह डी मा जापानले इजरायललाई १-० ले हराएर शतप्रतिशत जित निकाल्यो । ३ खेलबाट ९ अंक जोडेर जापान समूह विजेता बन्यो । मालीलाई १-० ले पराजित गर्दै पारग्वे ६ अंक जोडेर समूह उपविजेता बनेको हो ।

अब क्वाटरफाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच भिडन्त हुनेछ भने अमेरिकाले मोरक्कोसँग खेल्नेछ । यस्तै इजिप्टले पाराग्वेसँग खेल्दा जापान र स्पेनबीच भिडन्त हुनेछ । क्वाटरफाइनल खेल अगष्ट २ मा हुनेछ । सेमिफाइनल अगष्ट ५ मा हुनेछ भने फाइनल खेल अगष्ट ९ मा हुनेछ ।