काठमाडौं । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले पाँचौ खेल आज खेल्दैछ।
रोहित आबद्ध टोरोन्टोले आफ्नो पाँचौ खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ । टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शुक्रबार राति पौने ९ बाट सुरु हुनेछ ।
टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो र चौथो खेलमा पराजित भएको थियो । पहिलो र दोस्रो खेल समान ८ विकेटले जितेको थियो । तेस्रो खेल ८० तथा चौथो खेल २ रनले गुमाएको थियो । गएको मंगलबार भएको पछिल्लो खेलमा रोहित बेन्चमा रहेका थिए ।
६ टोली सहभागी लिगमा ४ अंकका साथ टोरोन्टो तेस्रो स्थानमा छ । ३ खेलमा अपराजित टाइगर्स ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।
यस्तै, शनिबार बिहान नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाइट्सले सर्रे ज्याकवार्सको सामना गर्नेछ ।
नाइट्स चार खेल खेल्दै अंकबिहिन रुपमा अंक तालिकाको पुछारमा रहेको छ । सर्रे र नाईट्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शनिबार बिहान पौने २ बजे सुरु हुनेछ ।