दीपेन्द्र र सन्दीप आबद्ध भ्यानकुभर रोहितसम्मिलित टोरन्टोसंग पराजित

Image

काठमाडौं । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको टोली भ्यानकुभर नाइट्स नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको टोली टोरोन्टो नेसनल्ससँग पराजित भएको छ । ग्लोबल टी- २० क्यानडा २०२४ अन्तर्गत शनिबार भएको खेलमा टोरोन्टो १९ रनले विजयी भएको हो ।

टोरोन्टोले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य पछ्याउँदा भ्यानकुभर १८.५ ओभरमा १ सय ८ रन बनाउँदै अलआउट बन्न पुग्यो । टोलीका लागि रिची बेरिङटनले सर्वाधिक ५२ रन बनाए । खेलमा दीपेन्द्रले खासै राम्रो गर्न सकेनन् । उनी १२ बलमा १३ रन जोड्दै पभिलियन फर्कन बाध्य भए । सन्दीप पनि ३ बलको सामना गर्दै शुन्य रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । कप्तान रोहित भने सुरुवात ११ मा अटाउन सकेनन् ।

बलिङमा सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले २ ओभर बलिङ गरेका थिए । उनले १६ रन खर्चेर कुनै विकेट लिन सकेनन् । भ्यानकुभर ६ खेलपछि अझै जितविहीन रहेको छ । मात्र १ अङ्कसहित टोली अङ्कतालिकामा पुछारमा छ । उता, टोरोन्टो ६ खेलबाट ७ अङ्क बटुल्दै दोस्रो स्थानमा छ ।