काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज नेपालले इरानसँग खेल्दैछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा बेलुका ५:१५ बजे सुरु हुनेछ।
सोमबार भएको लिगको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा गरेको थियो । नेपालले लिगचरणमा दोस्रो हुँदै इरानसँगको भेट पक्का गरेको हो।
नेपालले पहिलो खेलमा उपाधि जित्ने लक्ष्यसाथ उत्रिएको श्रीलंकालाई ३–० को सोझो सेटमा निराश पारेको थियो। दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान बनाएको थियो।
तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३–२ ले नतिजा ल्यायो । यद्यपि, सोमबार लिगचरणको अन्तिम खेलमा दोस्रो रोजाइका खेलाडी कोर्ट उतारेको नेपालले अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।
काभाले लिगचरणमा शीर्ष स्थानमा रहनेले चौथो र दोस्रो स्थानमा रहनेले तेस्रो स्थानमा खेल्ने तय गरेको थियो। त्यसकारण नेपालले लिगचरणमा सात अंक जोडेको इरान प्रतिद्वन्दी पाएको हो। नेपालले भने नौ अंक जोड्यो।
यसअघि इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो। नेपाल त्यही हारको बदला लिने लक्ष्यमा हुनेछ। इरानले श्रीलंका र माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। भारतसँग भने ३–१ ले पराजित भएको थियो।
यस्तै, आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्ने छन् । यी दुईबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ । भारत तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्न लागेको हो।

















