कप्तान रोहितआबद्ध टोरन्टो नेसनल्सले जित्यो ग्लोबल टी – २० लिगको उपाधि

Image

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान सम्मिलित टोली टोरोन्टो नेसनल्सले ग्लोबल टी – २० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा मोन्ट्रेयल टाइगर्सलाई ८ विकेटले हराउँदै टोरोन्टोले उपाधिमाथि कब्जा जमाएको हो ।

मोन्ट्रेयालले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य टोरोन्टोले मात्र १५ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । रोहित सुरुवाती ११ मा नअटाएको खेलमा आन्द्रेस गोउसले ४९ बलमा सर्वाधिक ५८ रनको योगदान दिए ।

त्यस्तै, रासी भान डेर डुसेनले नटआउट रहेर ३४ बलमा ३० रन जोड्दै टोलीलाई जित दिलाए । मोन्ट्रेयालका लागि अज्मतुल्लाह ओमरजाई र कोरबिन बोस्चले १ – १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रेयाल २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रनमा सीमित बनेको थियो । टोलीका लागि कोरबिनले ३३ बलमा सर्वाधिक ३५ रनको योगदान दिए ।

त्यस्तै, जसकरन सिंहले १६ रन तथा अनुप रविले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन नै जोड्न सकेनन् । टोरोन्टोका लागि जेसन बेहरेन्डोफले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, रोमारियो सेफर्डले ४ ओभरमा २० रन खर्चिदै २ विकेट हात पारे । जुनिक सिद्धिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल माथारुले १-१ विकेट लिए ।

फाइनलमा पनि नेपालका कप्तान पौडेललाई भने आराम दिइएको थियो। ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उनको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।यस सिजनमा टोरन्टोले कुल १० म्याच खेल्दा उनले दुई खेलमा मात्र प्लेइङ–११ मा मौका पाए ।

यद्यपि रोहित आफ्नो पहिलो सिजनमै च्याम्पियन टिमको सदस्य भने बने । यसपालि अरू नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्समा आबद्ध थिए । उनीहरूआबद्ध भ्यानकुभरले खराब प्रदर्शन गर्‍यो । ऊ तालिकाको पुछारमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो ।