काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्ले अफका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला प्रयोग गरेबापत राष्ट्रिय खेलुकद परिषद् (राखेप) लाई १ लाख ५ हजार रुपैयाँ तिर्ने भएको छ ।
चर्च ब्वाइजले खेलअघिको पत्रकार सम्मेलनमा यसको जानकारी दियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले मंगलबार दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ ।
साँझ ६ बजे सुरु हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ। प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।
चर्च ब्वाइले खेलका लागि टिकेटिङ पार्टनरका रूपमा खल्ती एप्ससँग सम्झौता गरेको छ । खेलका लागि टिकट दर साधारणतर्फ २०० र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

















