काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा दुई साता लामो प्रशिक्षणको अवसर पाएको छ। यो अवसरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले भारतको क्रिकेट नियमक बीसीसीआईलाई धन्यवाद दिएको छ।
नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। जसका लागि क्यानले बीसीसीआई र बीबीसीआईका सचिव जय शाहलाई धन्यवाद दिएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारी गर्न सोमबार मात्र भारत गएको छ।
सेप्टेम्बरमा नेपालले क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । नेपालको लिग–२ मा यो दोस्रो सिरिज हो। यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो । त्यति बेला गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप टि ट्वान्टी प्रतियोगिता पनि खेलेको थियो ।
नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । प्रत्येक टोलीसँग समान २ खेल्ने प्रावधान रहेको छ ।
नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गरेको थियो । गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
बन्द प्रशिक्षणका लागि बोलाईएका खेलाडी : रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा

















