एजेन्सी । पाकिस्तान र बंगलादेशबिचको दुई टेस्टको शृंखलाअन्तर्गतको दोस्रो खेल दर्शकविहीन रङ्गशालामा खेलाइने भएको छ । दोस्रो टेस्ट अगस्त ३० तारिखदेखि पाकिस्तानको कराँचीमा खेलाउने कार्यक्रम रहेको छ । तर, कराँचीस्थित स्टेडियममा हाल निर्माण कार्य भइरहेकाले दोस्रो टेस्ट दर्शकविहीन रङ्गशालामा खेलाउन लागिएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि यसको पुष्टि गरेको छ । अहिले पीसीबी आगामी वर्ष आयोजना हुने च्याम्पियनस ट्रफीको तयारीमा व्यस्त छ । च्याम्पियन्स ट्रफीका लागि पीसीबीले देशका स्टेडियमहरूको मर्मत गरिरहेको छ ।
सन् १९९६ मा विश्वकपको सह–आयोजक रहेको पाकिस्तानले त्यसपछि आयोजना गर्न लागेको सबैभन्दा ठुलो प्रतियोगिता नै आगामी च्याम्पियन्स ट्रफी हुनेछ । कराँचीसँगै लाहोरस्थित गद्दाफी स्टेडियममा पनि मर्मत कार्य भइरहेको छ ।
यो सिजन पाकिस्तानले घरेलु मैदानमा सात वटा टेस्ट शृङ्खला खेल्नु पर्ने हुन्छ । यी सातवटै टेस्ट पाकिस्तानको तीनवटा सहरमा खेलाइने कार्यक्रम छ । लाहोर र कराँचीका अतिरिक्त तेस्रो सहर मुल्ता हुनेछ । मुल्तानमा पाकिस्तानले इङ्ल्यान्डविरुद्धको शृङ्खला खेल्नेछ ।
पाकिस्तान र इङ्ल्यान्डबिचको टेस्ट अक्टोबर ७ तारिखमा सुरु हुनेछ । आफ्नो देशभित्र राजनीतिक कारणले अशान्ति रहेकाले बंगलादेशी टोली निर्धारित समयभन्दा चार दिनअघि नै पाकिस्तान पुगेको छ ।
बंगलादेशी टोलीले शृङ्खलाको अन्तिम तयारी पनि पाकिस्तानमै गर्नेछ । बंगलादेशी टोलीले पछिल्लो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीभन्दा अगाडि पाकिस्तानको भ्रमण गरेको थियो । तर, त्यतिबेला दोस्रो टेस्ट र एकदिवसीय शृङ्खला कोरोना महामारीका कारण रद्द गरिएको थियो ।

















