काठमाडौं । घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको समूहचरणको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै नेपाल साफ यू २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २-१ को जित दर्ता गरेको हो ।
एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो ।
खेलको १७ औं मिनेटमा नेपालले अग्रता लियो । बंगलादेशका गोलरक्षक मेहेदी हसन स्रबनले आफ्नो हाफको मध्य भागमा समिर तामाङको दबाबमा बल फुस्काए । समिरले त्यसपछि बल अघि बढाउँदै खाली पोस्टमा गोल गरे ।
त्यसको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर पार्यो । अभिनाश स्याङतानले दायाँ विगंबाट दिएको क्रसलाई निराजन धामीले पहिलो टचमै गोल गरे ।
४३ औं मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमा गोल गरे । राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । दोस्रो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । बंगलादेशले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेन ।
यससँगै नेपालको २ खेलमा ६ अंक भएको छ । बंगलादेश ३ अंकका साथ उपविजेता बन्दा श्रीलंका अंकविहिन रहँदै बाहिरियो । समूह बी मा भारत र भुटानको समान ३-३ अंक छ । भारतले शुक्रबार समूहको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।
नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशले पनि श्रीलंकाविरुद्ध २–० को जित निकालेपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ ।

















