नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीका प्रशिक्षक श्रेष्ठ भन्छन् – ‘सेमिफाइनलमा जोसुकै भए पनि तम्तयार छौँ’

Image

काठमाडौँ । बंगलादेशसँगको जितपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले साफ यू–२० च्याम्पियनशिपको सेमिफाइनलमा जुनसुकै टोली भए पनि चुनौती सामना गर्न तयार रहेको बताएका छन्।

समूहको अन्तिम खेलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपाल समूह विजेता बन्यो तर सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भने टुङ्गो लागेको छैन।

भारत र माल्दिभ्सबीच शुक्रवार हुने खेलपछि मात्र नेपालको प्रतिस्पर्धी टोलीको टुङ्गो लाग्नेछ। जितपछि नेपालका प्रशिक्षक श्रेष्ठले सबै टोली बलिया नै रहेकाले सेमिफाइनलमा जुनसुकै टोली भए पनि चुनौती सामना गर्न नेपाल तयार रहेको प्रतिक्रिया दिए।

उनले आजको खेलमा जित्नैपर्ने दबाबमा रहेको र शुरुवातमा अग्रता लिने योजना पनि सफल भएको उनले उल्लेख गरे। तर आफूहरूले २ गोल गरेपछि भने बंगलादेशले रणनीति परिवर्तन गर्दै चुनौती दिएको उनको भनाइ छ।

दोस्रो हाफमा नेपालले पनि मिडफिल्डमा बल होल्ड गर्दै उनीहरूको योजना सफल हुन नदिएको उल्लेख उनले गरे। शिक्षक श्रेष्ठले बंगलादेशी डिफेन्डर शारीरिक रूपमा अग्ला भएकाले केही चुनौती भएको पनि बताए।

उनले सेमिफाइनलमा भारत, माल्दिभ्स या भुटान जोसुकै प्रतिद्वन्द्वी भए पनि चुनौती सामना गर्न तयार रहेको बताए। नेपालका कप्तान कुशल देउवाले पनि सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्द्वीलाई हराउने आफ्नो टोली सक्षम रहेको धारणा राखे। उनले अहिले खेलाडीको मनोबल उच्च रहेको उल्लेख गरे।

यो नतिजाले खुशी रहेको र अब आगामी खेलमा ध्यान दिने कप्तान कुशल देउवा बताउँछन्। साथै उनले आगामी खेलमा राम्रो नजिता ल्याएर फाइनल जित्ने लक्ष्य रहेको बताए।

बंगलादेशका प्रशिक्षक मरुफुल हकले आफ्ना खेलाडीले शुरुआतमा राम्रोसँग ध्यान नदिँदा समूहविजेता बन्न नसकेको बताए। साथै उनले उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा आएको हो भने सेमिफाइनलमा जुनसुकै टोली भए पनि केही फरक नपर्ने प्रतिक्रिया दिए।