हेटौंडा / बागमती प्रदेश खेलकुद विकास परिषद्मा मनोनित भएका १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सपथ ग्रहण समारोहमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको उपस्थिति थियो।
सपथ लिने सदस्यहरुमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, सविन भट्टाचार्य, र दीपा क्षेत्री, चितवनकी नविना खनिया, रामेछापकी कल्पना खड्का, सिन्धुपाल्चोकका राजन धिताल, मकवानपुरका अमृत लुङवा, दोलखाकी अञ्जना शिवाकोटी, र काभ्रेपलाञ्चोकका गोविन्दलाल श्रेष्ठ रहेका छन।
युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका व्यक्तिहरुलाई परिषद्मा समेटिएको उल्लेख गर्दै यसले बागमती प्रदेशको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
सामाजिक विकासमन्त्री खड्गीले परिषद्का सदस्यहरुलाई खेलकुद क्षेत्रको प्रवर्द्धन र खेलाडीहरुको हितका लागि आफ्नो विशेषज्ञता प्रयोग गर्न प्रेरित गरिन्।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार विनोद शाह, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे, प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्रीबहादुर पाठक लगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो।

















