हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ ले आउँदो माघ ९ गतेदेखि फागुन १७ गतेसम्म दोस्रो वडा खेलकुद महोत्सव आयोजना गर्ने भएको छ। ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना हुने यस महोत्सवले विद्यार्थीहरूको शारीरिक, बौद्धिक, तथा सिर्जनशील प्रतिभा उजागर गर्ने लक्ष्य लिएको छ।
महोत्सव सामुदायिक तथा संस्थागत विद्यालयहरू बीचको प्रतिस्पर्धा र शैक्षिक गुणस्तर सुधारका लागि सहायक बन्ने बिस्वास वडाध्यक्ष नवीन सिग्देलले बताउनुभयो। कार्यक्रमको व्यवस्थापन वडा कार्यालय, शैक्षिक गुणस्तर सुधार समिति, र विभिन्न विद्यालयहरूको सहकार्यमा हुनेछ उहाँले बताउनुभयो।
महोत्सवका मुख्य कार्यक्रमहरू:
हाजिरी जवाफ प्रतियोगिता: माघ ९, नवोदय मावि
वक्तृत्वकला प्रतियोगिता: माघ १३, आधुनिक मावि
वादविवाद प्रतियोगिता: माघ १४, सत्यम जेभियर्स मावि
नेपाली हिज्जे प्रतियोगिता र स्लो स्कुटी प्रतियोगिता: माघ १५, श्रमिक मावि
कविता प्रतियोगिता: माघ २४, ब्रम्हदिक मावि
निबन्ध लेखन प्रतियोगिता: माघ २५, भुटनदेवी मावि
विभिन्न दौड प्रतियोगिता: फागुन २
नगरस्तरीय भलिबल, फुटबल, र क्रिकेट प्रतियोगिता: फाल्गुन ३
अफ वार प्रतियोगिता: फाल्गुन ५, सत्यम स्कुल
नगरस्तरीय बास्केटबल प्रतियोगिता: फागुन ५, नवोदय स्कुल
नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता: फागुन १६ र १७
विजेताहरूलाई फागुन ७ गते प्रमाणपत्र, शिल्ड, र मेडल प्रदान गरिने जनाइएको छ। गतवर्ष पनि वडाले वडास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो भने यसपटक महोत्सवलाई अझ विस्तारित र बहुपक्षीय बनाइएको उहाले बताउनुभयो।

















