हेटौंडा/ मकवानपुर बागमती गाउँपालिका खेलकुद बिकास समितीको आयोजनामा तथा बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा आयोजना हुने भएको छ। यसअघि फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता दुई दिन पछि सारिएको हो।
प्रतियोगितामा ‘ए’ डिभिजनका ७ र मोफसलका ३ टोली गरी १० टिमको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष रहर सिहं थिङ्गले बताउनुभयो। प्रतियोगिताको उपाधि विजेता टिमले नगद १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने उहाले बताउनुभयो। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ, र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिनेछ।
यसअघि, प्रतियोगिता जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएकोमा यसपटक सहिद स्मृति रंगशालामा आयोजना गर्न लागिएको हो। फुटबल खेलको प्रवर्द्धनका लागि बागमती गाउँपालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना पनि बनाएको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनुभयो। कार्यक्रममा बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिहं थिङ्ग, उपाध्यक्ष वीरबहादुर थिङ्ग, कोशाध्यक्ष डोरबहादुर थापा क्षेत्री लगायत सदस्यहरू उपस्थिति रहेको थियो।

















