हेटौंडा/ बागमती गाउँपालिकामा सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो।
सोही अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले बागमती गाउँपालिकाको लगानीमा निर्मित सहिद स्मृति रंगशालाको पनि उद्घाटन गर्नुभयो।
प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई १-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ। बागमतीको जितमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३औं मिनेटमा निर्णायक गोल गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्दै घिसिङ खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।
प्रतियोगितामा ‘ए’ डिभिजनका ७ तथा मोफसलका ३ गरी १० टोली सहभागी छन्। आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ।
त्यसैगरी, उत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलका ‘म्यान अफ दी म्याच’ खेलाडीले १० हजार रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछन्।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिं, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, कुमारी मोक्तान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो।

















