हेटौंडा / हेटौंडामा दोस्रो एएफयु सेभेन ए साईड महिला फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। शनिवार कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडाले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सम्बन्धमा जानकारी गराएको हो।
प्रतियोगिता हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रगंशालामा आइतबारदेखि बुधवारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा नौ टिमहरूको सहभागिता रहनेछ, जसमा कृषि संकाय, रामपुर (चितवन), वन विज्ञान संकाय, हेटौंडा (मकवानपुर), र प्राकृतिक श्रोत व्यवस्थापन कलेजहरू: पाख्रिबास (धनकुटा), कटारी (उदयपुर), बर्दिबास (महोत्तरी), मरिण (सिन्धुली), पुरुञ्चौर (कास्की), माडिचौर (रोल्पा), र टीकापुर (कैलाली) सहभागी हुनेछन्।
पुरस्कार र व्यवस्थापन
प्रतियोगितामा विजेता टिमले नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न करिब रु ४ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ। हेटौंडा उपमहानगरपालिका र हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य आर्थिक सहयोगमा पुरस्कार व्यवस्थापन गरिएको हो।
विश्वविद्यालयको परिचय
२०६९ सालमा स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले २०७० सालदेखि कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान तथा वन विज्ञान विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारीधी तहमा विद्यार्थी भर्ना गरी अध्यापन गराउँदै आएको छ। हाल यो विश्वविद्यालयमा करिब ४ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्।
प्रतियोगिता महिला खेलकुदको प्रवर्धन र प्रतिभा उजागर गर्न महत्वपूर्ण हुने विश्वास गरिएको छ।

















