१५ महिनापछि सार्वजनिक आयव्यय : राष्ट्रिय गोल्डकप घाटामा, अब महिला संस्करणको तयारी

Image

हेटौंडा – छैटौं स्थानीय तह राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको १५ महिनापछि जिल्ला फुटबल संघ मकवानपुरले प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरेको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष अमृत लुङबाले प्रतियोगिता आर्थिक रुपमा घाटामा गएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिता सञ्चालनमा कुल ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको थियो, तर आम्दानी ८९ लाख २४ हजार रुपैयाँमा सीमित रह्यो। परिणामस्वरूप प्रतियोगिता २ लाख २४ हजार रुपैयाँ घाटामा गएको छ।
२०७९ माघ १६ देखि २७ गतेसम्म आयोजना गरिएको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले एनआरटीलाई हराउँदै हात पारेको थियो।

संघले आगामी दिनमा महिला फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षदेखि महिला गोल्डकप पनि सुरु गर्ने घोषणा गरेको छ। वैशाख १९ गतेदेखि सुरु हुने महिला गोल्डकप गौरीटार रंगशालामा हुनेछ। प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस र एपीएफ लगायत पाँच जिल्लाका आठ क्लब सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार स्वरूप पाउनेछन्। प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिता सफल बनाउन मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् र स्थानीय संघसंस्थाहरूले सहयोग गर्ने आयोजकले जानकारी दिएको छ।