मकवानपुर जिल्ला फुटबल संघले छैठौं संस्करणसम्म पुरुषमै सीमित गोल्डकप अब महिलाका लागि, ८ टोलीको प्रतिस्पर्धा, विजेतालाई ५ लाख

Image

हेटौंडा /  ‘खेलकुदमा लैंगिक समावेशिता’ को सन्देश दिंदै मकवानपुर जिल्ला फुटबल संघले पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। विगतमा छैठौं संस्करणसम्म केवल पुरुष फुटबलमा केन्द्रित रहँदै आएको गोल्डकप प्रतियोगिता अब सातौं संस्करणबाट महिला खेलाडीहरूको प्रतिभा उजागर गर्न प्लेटफर्म बन्नेछ।

बैशाख १९ गतेदेखि हेटौंडा-६ गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित पाँच जिल्ला क्लबको सहभागिता रहनेछ। विभागीय तर्फ सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रिने छन्। यस्तै, जिल्ला तर्फ मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका टोलीले मैदान तताउनेछन्।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाका अनुसार महिला खेलकुदको दिगो विकास र अवसरको अभावलाई सम्बोधन गर्न यो प्रतियोगिता परिवर्तनको संकेत हो। “पुरुष मात्र होइन, महिलाहरूको सीप पनि उत्तिकै उत्कृष्ठ छ भन्ने सन्देश दिन हामीले यो निर्णय गरेका हौं,” अध्यक्ष लामाले बताए।

प्रतियोगिताको पुरस्कार पनि आकर्षक बनाइएको छ — विजेताले ५ लाख, उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर दिइनेछ भने हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख रुपैयाँको खर्च अनुमान गरिएको छ। संघका महासचिव छवि सुवेदीका अनुसार थप प्रायोजक जुटेमा पुरस्कार राशी थप्ने तयारी गरिएको छ।
यो प्रतियोगिता मकवानपुरमा महिला फुटबलको इतिहासको नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ।