हेटौंडामा महिला फुटबलको उत्सव: राष्ट्रिय गोल्डकप आजदेखि सुरु

Image

हेटौंडा/  महिला फुटबलको प्रवर्द्धन र सशक्तीकरणको उद्देश्यले हेटौंडामा पहिलोपटक आयोजना गरिएको सातौं सहिद स्मृति राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ। आज साँझ ४ बजे हुने उद्घाटन खेलमा रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर र चितवन जिल्ला महिला टिम आमनेसामने प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विभागीय तथा जिल्लास्तरीय गरी जम्मा ८ टिमको सहभागिता रहेको छ। खेलमा राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरू समेत खेल्नेछन्, जसले प्रतियोगिताको स्तरलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

विजेता टोलीले ५ लाख रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगिताकी उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बाँनियाको तर्फबाट एक थान स्कुटर प्रदान गरिनेछ।

प्रतियोगिताको सञ्चालनमा करिब ६१ लाख रुपैयाँ खर्चहुने अनुमान गरिएको छ। हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट १५ लाख र भीमफेदी तथा कैलाश गाउँपालिकाबाट ३–३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।

मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित यो प्रतियोगिताले महिला सशक्तीकरणसँगै खेलकुदको विकास र हेटौंडा क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास लिइएको छ।