नेकोस कप अन्तर्गत राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हेटौंडामा हुने

Image

हेटौंडा/ नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा हेटौंडामा ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ र ‘नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२’ हुने भएको छ । पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिता भोलि असार ७ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने जानकारी दिएको हो ।

महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेशसहित सात टोलीको सहभागिता रहनेछ । रोलर स्केटिङ प्रतियोगितामा भने १२ वर्षमुनिका र १२ वर्षमाथिका महिला तथा पुरुष गरी चार विधामा करिब १५० खेलाडीले सहभागिता जनाउनेछन् ।

भलिबलतर्फ प्रथम हुने टोलीलाई ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई १ लाख र सान्त्वना पुरस्कारस्वरूप ५१ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ बन्ने खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । स्केटिङतर्फ भने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भलिबल प्रतियोगिता असार ७ गते शनिबार दिउँसो ३ बजे हेटौंडा ४  हुब्रा चौरमा मा रहेको भलिबल प्रशिक्षण केन्द्रमा उद्घाटन हुने छ भने स्केटिङ प्रतियोगिता असार ८ गते आइतबार बिहान ७ बजे हेटौंडा–५ स्थित पुष्पलाल रोडको स्केटिङ पार्कमा सुरु हुनेछ । दुवै प्रतियोगिताको उद्घाटन समारोह हेटौंडा

उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम असार ११ गते हेटौंडाको हुप्राचौरमा आयोजना गरिनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।