हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा तेस्रो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिता असार १३ गते शुक्रबारदेखि १६ गते सम्म हुँने भएको छ। वडा खेलकुद विकास समितिको आयोजनामा र वडा कार्यालयको सहयोगमा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष सुनिल मोक्तानको उपस्थितिमा तालिका सार्वजनिक गरिएको हो।
प्रतियोगिताको उद्घाटन खेल चुरियामाई–३ र चुरियामाई–८ बीच हुनेछ। गौरिटारस्थित रंगशालामा हुने खेल दिउँसो २ बजेबाट सुरु हुने जानकारी वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीले दिएका छन्।
वडाभित्रको खेल प्रतिभा पहिचान र १५ नम्बर वडाको प्रतिनिधि टोली तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो । प्रतियोगितामा सात वटा टिमको सहभागिता रहनेछ।
वडाध्यक्ष मोक्तानले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोगिताका विजेता टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले भने २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
असार १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। अघिल्लो संस्करणमा हेटौंडा उपमहानगरपालिका भित्रका १७ वडाको सहभागिता रहेकोमा १२ नम्बर वडा उपाधि विजेता बनेको थियो।












