हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा तेस्रो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडा–६ स्थित गौरिटार रंगशालामा सुरु भएको छ। वडा खेलकुद विकास समितिको व्यवस्थापनमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा साविक चुरियामाई–३ ले चुरियामाई–८ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका चुरियामाई–३ का असिम लामा ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। प्रतियोगिता वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षता र वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अथिति मोक्तानले हेटौंडा–१५ फुटबलका लागि मकवानपुरकै उर्वर भूमि भएको उल्लेख गर्नुभयो। उहाँले यस वडाबाट राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आएका छन् भने नगरस्तरीय फुटबल प्रतियोगिताहरूमा समेत वडा १५ ले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको पनि बताउनुभयो।
प्रतियोगिताको फाइनल खेल आगामी असार १६ गते हुनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उपाधि विजेता टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिनेछ।
भोलि (शनिबार) हुने खेल तालिका अनुसार पहिलो खेल दिउँसो २ बजे समूह ‘ख’ अन्तर्गत चुरियामाई–४ र चुरियामाई–७ बीच हुनेछ भने दोस्रो खेल ४ बजे चुरियामाई–५ र चुरियामाई–९ बीच प्रतिस्पर्धा हुने वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीले जानकारी दिनुभयो।












