टी-२० मा द. अफ्रिकाले पूरा गर्‍यो २१२ रन, त्यही रात नेपालले वानडेमा भेट्टाएन सोही लक्ष्य

Image

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानसँग नेपाल १३ रनले पराजित भयो । आज बिहान अमेरिकाको ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले ७९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ६६ रन बनाए । एकदीवसीयमा आरिफको यो दोस्रो अर्धशतक हो । त्यस्तै, देव खनालले ३४, रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र सुनिल धमलाले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

ओमानका लागि खावर अली, जीशान मक्सूदले तीन/तीन, बिलाल खानले दुई र अयान खानले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २११ रन बनायो । उसका लागि कप्तान जीशान मक्सूदले शतकीय पारी खेले । १२६ बलको सामना गरेका उनले १२ चौकासहित १०४ रन बनाए ।

त्यस्तै, खावर अलीले ३०, सोयब खानले २७, सुरज कुमारले १२ र जतिन्दर सिंहले ११ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले १० ओभरमा ३८ रन दिएर सर्वाधिक ५ विकेट लिए । उनको यो करियरकै उच्च बलिङ प्रदर्शन हो । त्यस्तै, सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए । विश्वकप लिग–२ मा नेपालको यो सातौं हार हो । नेपालले त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेल शनिबार अमेरिकाविरुद्ध खेल्नेछ ।

भारतमाथि दक्षिण अफ्रिकाको कीर्तिमानी जित, मिलर र दुसेनले गरे चौका/छक्काको वर्षा

एकदिवसीयमा ओमानले दिएको २१२ रनको लक्ष्य नेपालले पूरा गर्न नसकेकाे रातमा भारतविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भने सोही लक्ष्य सजिलै पूरा गर्‍यो । भारतविरुद्ध दक्षिण अफ्रिकाको यो कीर्तिमानी जित हो । यसअघि उसले टी–२० मा कुनै पनि टिमविरुद्ध २१२ रनको विशाल लक्ष्य पूरा गरेको थिएन ।

२१२ रनको कीर्तिमानी लक्ष्य द. अफ्रिकाले १९.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । उसका लागि डेविड मिलर र रस्सीभानडर दुसेनले शानदार ब्याटिङ गरे । मिलरले ३१ बलमा चार चौका र पाँच छक्कासहित अविजित ६४ रनको योगदान दिए । त्यस्तै, दुसेनले ४६ बलमा सात चौका र पाँच छक्काको मद्दतमा अविजित ७५ रनको पारी खेले ।

उनी र मिलरले चौथो विकेटका ६४ बलमा अविजित १३१ रनको साझेदारी गरे । त्यस्तै, ड्वेन प्रिटोरियसले १३ बलमा चार छक्का र एक चौकासहित २९ रन बनाए । क्विन्टन डिकक २२ र कप्तान तेम्बा बावुमा १० रनमा आउट भए । भारतका लागि हर्षल पटेल, अक्षर पटेल र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।

त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो । उसका लागि इशान किशनले उत्कृष्ट पारी खेले । ४८ बलको सामना गरेका उनले ११ चौका र तीन छक्कासहित ७६ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा इशानको यो तेस्रो अर्धशतकीय पारी हो ।

त्यस्तै, श्रेयस अय्यरले ३६, कप्तान ऋषभ पन्तले २९, हार्दिक पाण्ड्याले १२ बलमा अविजित ३१ र ऋतुराज गायकवाडले २३ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि केशव महाराज, ड्वेन प्रिटोरियस, वार्ने पावेल र एनरिक नोर्टजेले एक/एक विकेट लिए । यो जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतबार हुनेछ ।