बैकुण्ठमा सञ्चालन भयो बर्थिङ सेन्टर

Image

हेटौंडा / मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको रोराङ बेनिघाट गाउापालिका वडा ४ नम्बर सँग सिमाना गाँसिएको कैलाश बैकुण्ठ क्षेत्रका गर्भवती महिलाहरुले अब आफ्नै गाउँघरको बर्थिङ सेन्टर सुत्केरी गराउन पाउने भएका छन् । यस अघि घण्टौं यात्रापश्चात वडा १ को वरभञ्ज्याङ पुग्नुपर्ने बाध्यता हटेको छ ।

गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गरी सेवा प्रवाह गर्ने लक्ष्यका साथ २ नम्बर वडामा प्रसुती केन्द्र सञ्चालन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बर्थिङ सेन्टरको उद्घाटन गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र भइसकेको अवस्था छ, अब हामीले दुईवटा वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालन गर्न बाकी रहेको बताए । बच्चा र आमाको स्वास्थ्य सुरक्षा होस् भन्ने हेतुले होम डेलिभरीको अन्त्य गर्न यस केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएका हौं, उनले भने ।

सुत्केरी बेथा लागेपछि कि डाडाँखर्क कि त पालुङ लाने गरिन्छ त कि त भने मनहरी, हेटौंडा लाने अवस्था छ, जोखिम मोलेर त्यहाँ सम्म जानुपर्ने बाध्यतालाई अन्त्य गर्न नै यस केन्द्रको निर्माण भएको अध्यक्ष मुक्तानले बताए ।

शिशु मृत्युदर र मातृ मृत्युदर कम गर्न आमा र शिशुको स्वास्थ्यको सुरक्षाको लाभ लिन कैलाश बैकुण्ठ मात्रै नभइ छिमेकी गाउँपालिकाले पनि सक्ने उनले बताए । राज्यले एउटा मापदण्ड दिएको छ । सोही अनुरुप कैलाश गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा धेरै कार्यक्रमहरु गर्दै आइरहेको छ । निशुल्क औषधि प्रदान, पोषण कार्यक्रम, खोप कार्यक्रम लगायत धेरै कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए ।

वडा २ का वडा अध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतम, वडा सदस्यद्धय फूलमाया सुनार र सुर्यबहादुर स्याङ्तान, जग्गादाता ललितबहादुर मुक्तान, बैकुण्ठ आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख विश्वनाथ सिंहलगायतको आतिथ्यता रहेको थियो ।

गाउँपालिकाले १० लाख लागतमा २ कोठे भवन निर्माण गरेको हो । बर्थिङ सेन्टर सञ्चालनका लागि सम्पूर्ण सामाग्रीहरु र भौतिक संरचना पूर्ण रहेको वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । उनले मातृशिशु मृत्युदर घटाउनकै लागि प्रसुती केन्द्र निर्माण गरिएको बताए । सुत्केरी घरमा होइन अब स्वास्थ्य संस्थामै गराउनुपर्छ, वडाध्यक्ष घिसिङले भने ।

घण्टौं हिडेर जानुपर्ने बाध्यता विस्तारै सहज बन्दै गएको उनले बताए । जग्गादाता ललितबहादुर मुक्तानले करिब तीन रोपनी जग्गा दान गरेपछि स्वास्थ्य संस्था निर्माण पश्चात अहिले सोही बाकीँ जग्गामा बर्थिङ सेन्टर निर्माण गरिएको उनले बताए ।