हेटौँडा / हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा बसामाडी जम्बो टोलकी ३४ वर्षीया कमला खड्का तीन सन्तानकी आमा हुनुहुन्छ। दुधे बालकसहित छोराछोरीको पेट पाल्न होटलमा भाँडा माझ्दै आउनुभएकी खड्काको आफ्नै घरसमेत छैन। आर्थिक अभावसँग जुध्दै आउनुभएकी उहाँ अहिले स्तन क्यान्सरसँग जीवनको कठिन संघर्ष गरिरहनुभएको छ।
कमलाको एउटै चाहना छ— “मेरा बालबालिकाको भविष्यका लागि बाँच्न चाहन्छु।” उपचारका लागि सहयोगको आशा बोकेर उहाँ सहयोगी हातहरूको खोजीमा पुग्नुभएको हो।
उहाँको अवस्थाबारे जानकारी पाएपछि सेवा सहयोग आवाज हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको जनाएको छ। केही दाताहरूले समेत कमलाको खातामा सहयोग रकम पठाएका छन्। हेटौँडा–३ का वडा अध्यक्षले पनि सहयोग गर्नुभएको र आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।
तर उपचारका लागि सहयोग जुटाउने प्रयास भइरहेकै बेला कमलाको परिवारमा दैनिक गुजारा चलाउनसमेत कठिन अवस्था देखिएको छ। हिजो राति कमलाले फोनमार्फत “घरमा अन्नको एक दाना पनि छैन, बालबालिका भोकै छन्, म काम गर्ने अवस्थामा छैन” भन्दै सहयोगको आग्रह गर्नुभएको थियो।
त्यसपछि तत्काल उहाँको परिवारका लागि खाद्यान्न तथा नगद सहयोग गरिएको समाजिक अभियान्ता तथा सेवा सहयोग आवाज हामीका अध्यक्ष बिसाल राज महतले बताउनुभयो। अध्यक्ष महतका अनुसार कमलाको उपचारसँगै दैनिक जीवनयापनका लागि अझै सहयोग आवश्यक रहेको छ।
क्यान्सरजस्तो जटिल रोगसँग संघर्ष गरिरहेकी एक आमासँग आफ्ना तीन सन्तानको भविष्यका लागि बाँच्ने ठूलो चाहना छ। आर्थिक अभावका कारण उपचार र परिवारको आधार कमजोर बन्दै गएको अवस्थामा सहयोगी मनहरूले हातेमालो गरिदिए कमलाको उपचारमा ठूलो राहत पुग्नेछ।
आउनुस्, हामी सबै मिलेर एउटी आमालाई बाँच्ने आधार दिऔँ। तपाईंको सानो सहयोग उहाँका तीन सन्तानका लागि आमाको ठूलो आशा बन्न सक्छ।












