करण भर्सेस सोमपालमा कुन उत्कृष्ट अलराउन्डर? तथ्यांकले यस्तो भन्छ

Image

काठमाडौं ।

वर्तमान समयमा पनि नेपालका लागि करण केसी र सोमपाल कामी चर्चित अलराण्डरको रूपमा चिनिन्छन् । यी दुवै खेलाडी नेपालको लागि पटकपटक उत्कृष्ट प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल र करणको एकआपसमा तुलना गर्‍यो भने आँकडा बराबर जस्तै छ । दुवै खेलाडी नेपालका लागि उत्तिकै महत्वपूर्ण छन् ।

धेरै समयदेखि चर्चा भइरहेको छ कि सोमपाल र करणमध्ये नेपालका लागि उत्कृष्ट अलराण्डर को? यसैबीच, आज हामी सोमपाल र करणको अन्तर्राष्ट्रिय क्रिकेटको प्रदर्शनबारे चर्चा गर्दैछौँ :

३० वर्षीय करणले नेपालका लागि हालसम्म २० अन्तर्राष्ट्रिय एकदिवसीय म्याचमा खेलेका छन् । जसमा उनले १६ पारीमा १६६ रन बनाएका छन् । वानडेमा करणकोे सर्वश्रेष्ट स्कोर ४२ रन हो । त्यस्तै, उनले यो प्रारूपमा बलिङतर्फ ३२ विकेट पनि आफ्नो नाममा गरेका छन् ।

एकदिवसीयमा करणको उत्कृष्ट बलिङ ३८ रन खर्चेर ५ विकेट लिनु हो । त्यस्तै, उनले आजसम्म ३८ अन्तर्राष्ट्रिय टी–२० म्याच खेलेका छन् । जसमा उनले २३ पारीमा २ सय ७६ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा करणको उच्च स्कोर ४५ रन हो ।

त्यस्तै, उनले नेपालका लागि अन्तर्राष्ट्रिय टी–२० मा बलिङबाट पनि महत्वपूर्ण योगदान दिँदैआएका छन् । उनले यो प्रारूपमा ३८ म्याचमा ७.५३ को इकोनमीमा ४५ विकेट लिएका छन् । टी–२० मा करणको उत्कृष्ट बलिङ २१ रन दिएर ५ विकेट लिनु हो । उनी टी–२० मा सर्वाधिक विकेट लिने दोस्रो नेपाली बलर हुन् । करणले टी–२० मा २०१५ र वानडेमा २०१८ मा डेब्यू गरेका थिए ।

त्यस्तै, २६ वर्षीय सोमपालले आजसम्म नेपालका लागि २० अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेलेका छन । जसमा उनले १७ वानडे पारीमा २ सय ५२ रन बनाएका छन् । यो प्रारूपमा सोमपालको उच्च स्कोर ६१ रन हो ।

त्यस्तै, उनले बलिङमा ३३ वानडे विकेट लिएका छन् । एकदिवसीयमा सोमपालको उत्कृष्ट बलिङ ५ विकेट लिएर ३३ रन दिनु हो । उनले आजसम्म नेपालका लागि ३७ अन्तर्राष्ट्रिय टी–२० म्याच खेलिसकेका छन् । जसमा सोमपालले ३७ म्याचको २२ पारीमा २ सय २२ रन बनाएका छन् ।

अन्तर्राष्टिय टी–२० क्रिकेटमा सोमपालको उच्च स्कोर ४० रन हो । त्यस्तै, यो प्रारूपमा उनले आजसम्म ७.०४ को इकोनमीमा ३४ विकेट लिएका छन् । टी–२० मा सोमपालको उत्कृष्ट बलिङ ३ विकेट लिएर २० रन दिनु हो । उनले टी–२० मा २०१४ र वानडेमा २०१८ मा डेब्यू गरेका थिए ।