नेपाली क्रिकेटबारे यस्तो भन्छन् आईसीसीका उपाध्यक्ष ख्वाजा

Image

काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का पदाधिकारीहरूबीच भेटवार्ता भएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मन्त्री अथक र आइसिसीका पदाधिकारीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको समग्र विकासमा आइसिसीले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । ‘आइसिसीले नेपाली क्रिकेटको विकासमा खेलेको भूमिका प्रशंसनीय छ, आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गर्दछौं’, मन्त्री अथकले भने ।

उनले नेपालमा क्रिकेटप्रति बढ्दै गएको आकर्षणले चुनौतीसँगै सम्भावना समेत बढेको उल्लेख गरे । विगतभन्दा नेपाली खेलाडीहरूको अवस्था सुध्रिएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडी र खेल क्षेत्रको समग्र विकासमा सरकार गम्भीर भएर लागेको बताए ।

आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) को प्रतिबन्ध फुकुवा गरेकोमा मन्त्री अथकले खुसी समेत व्यक्त गरे ।भेटवार्तामा बोल्दै आइसिसीका उपाध्यक्ष इमरान ख्वाजाले नेपालमा क्रिकेटको धेरै ठूलो सम्भावना रहेको बताए ।

आफूले विगतदेखि नै नेपाली क्रिकेट क्षेत्रलाई नजिकबाट नियालिरहेको बताउँदै ख्वाजाले पछिल्लो समय सरकारी संयन्त्रबाट समेत क्रिकेटको विकासका लागि प्रयासहरू भइरहेको भन्दै खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटको विकासका लागि ठूला राष्ट्रलाई नेपालमा बोलाएर खेल खेलाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।