इंग्ल्याण्डमाथि भारतको फराकिलो जित, यी खेलाडी बने जितका ‘नायक’

Image

काठमाडौं।

इंग्ल्याण्डसँगको टी–२० सिरिज पाहुना टोली भारतले जितेको छ। बर्मिङ्म क्रिकेट स्टेडियममा भएको दोस्रो म्याचमा इंग्ल्याण्डलाई ४९ रनले हराउँदै एक अगावै २–० ले सिरिज जितेको हो। भारतले दिएके १ सय ७१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १७ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन मात्रै बनाउन सक्यो।

उसका लागि मोइन अलीले ३५, डेभिड विलीले नटआउट ३३, डेविड मलानले १९ र लियाम लिभिङस्टोनले १५ रन बनाए। ह्यारी ब्रुक ८, कप्तान जोस बटलरले ४, साम करन, रिचर्ड ग्लेसन २–२, क्रिस जोर्डन १, जेसन रोय र म्याट पार्किन्सन शून्य रनमा आउट भए।

भारतका लागि भुवनेश्वर कुमारले ३, जसप्रित बुमराह र युजवेन्द्र चहलले २–२ तथा हर्षल पटेल र हार्दिक पाण्ड्याले १–१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो।

उसका लागि रवीन्द्र जडेजाले सर्वाधिक रन बनाए। उनले २९ बलमा ४ चौकासहित ४६ रनको योगदान दिए। यस्तै, कप्तान रोहित शर्माले ३१, ऋषभ पन्तले २६, सूर्यकुमार यादवले १५, हर्षल पटेलले १३, हार्दिक पाण्ड्या र दिनेश कार्तिकले १२–१२ रन बनाए। भुवनेश्वर कुमार २ र विराट कोहली १ रनमा आउट भए।

इंग्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक ४ विकेट लिए। डेब्यू खेलाडी रिचर्ड ग्लेसनले ३ विकेट हात पारे। ग्लेसनले ४ ओभरमा मात्र १५ रन दिए। उनले एक ओभर मेडन राखे। भारत र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम म्याच आइतबार नटिङ्घममा हुनेछ।