दुर्गम क्षेत्रमा सरकारी सेवा विस्तार : राक्सिराङमा एकीकृत घुम्ती शिविर सञ्चालन हुँदै

Image

हेटौंडा/ मकवानपुरको दुर्गम क्षेत्रस्थित राक्सिराङ गाउँपालिका ले नागरिकता, राष्ट्रिय परिचयपत्र र अपाङ्गता परिचयपत्रजस्ता अत्यावश्यक सेवाहरू बस्तीमै पुगेर वितरण गर्ने तयारी गरेको छ।

गाउँपालिकाले वडा नं. ९ खैराङमा बृहद् एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। शिविरमार्फत नागरिकता प्रमाणपत्र वितरण, राष्ट्रिय परिचयपत्र जारी तथा अपाङ्गता परिचयपत्र वितरणलगायतका सेवा एकै स्थानबाट प्रदान गरिनेछ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार जिल्ला प्रशासन कार्यालय र पञ्जीकरण विभाग सँगको समन्वयमा सेवा प्रवाह गरिनेछ। शिविरमा आवश्यक भए प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा नागरिकता वितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

कार्यक्रमअन्तर्गत चैत १६ गते वडा नं. ९ खैराङ, चैत १८ गते वडा नं. ८ पाम्बुङ र चैत २० गते वडा नं. ७ जुरेथुममा घुम्ती शिविर सञ्चालन गरिनेछ।

यसअघि चैत १ गते वडा नं. १ दुंगुमा सञ्चालन गरिएको एकीकृत शिविरमार्फत कृषि, पशु, स्वास्थ्य, शिक्षा तथा विकास निर्माणसम्बन्धी सेवाहरू प्रदान गरिएको थियो।

गाउँपालिकाका अनुसार राष्ट्रिय परिचयपत्र नपाएका तथा नागरिकता बनाउन सदरमुकाम हेटौँडा जान नसक्ने ज्येष्ठ नागरिकहरू यस कार्यक्रमबाट विशेष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा सहज बनाउन र संघीयताको भावना व्यवहारमा उतार्न यस्ता शिविरलाई निरन्तरता दिने अध्यक्ष मल्लले जानकारी दिनुभएको छ।