काठमाडौं । कतारको दोहामा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।
प्रतियोगिताका लागि क्यानले यसअघि नै १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिसकेको छ। जसमा नेपाल प्रिमियर लिग (एनपीएल) को जारी संस्करणको लिग चरणबाट बाहिरिएका विभिन्न टोलीबाट १० जना खेलाडी र प्लेअफमा स्थान पक्का गरेका टोलीबाट ५ जना खेलाडी छनोटमा परेका छन्।
मंगलबार कतार प्रस्थान गर्ने टोलीमा लिग चरणबाट बाहिरिएका टोलीका १० खेलाडीसँगै केही वैकल्पिक (ब्याकअप) खेलाडीहरू पनि सहभागी छन्। एनपीएलको प्लेअफ समीकरणमा रहेका टोलीमा आबद्ध ५ जना प्रमुख खेलाडीहरू भने जारी लिगका खेलहरू पूर्ण रूपमा सकिएपछि मात्र कतार उड्नेछन्।
प्लेअफ खेल्ने व्यस्तताका कारण ती खेलाडीहरूले प्रतियोगिताको सुरुवाती खेलहरू गुमाउने निश्चित भएपछि क्यानले पहिलो चरणका खेलहरूका लागि वैकल्पिक खेलाडीहरूलाई समेत टोलीसँगै कतार पठाएको हो।
एनपीएलको प्लेअफ खेलेर पछि टिमसँग जोडिने ५ खेलाडीहरूमा लुम्बिनी लायन्सका सन्दीप जोरा र अभिषेक गौतम, सुदूरपश्चिम रोयल्सका इशान पाण्डे, काठमान्डु गोर्खाजका राशिद खान र चितवन राइनोजका देव खनाल रहेका छन्।
एसिया कप राइजिङ स्टार्सको समूह चरणमा नेपाल निकै प्रतिस्पर्धात्मक समूहमा रहेको छ। नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्नेछ भने त्यसपछि नोभेम्बर २२ मा युएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ को सामना गर्नेछ।
















