काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत प्लेअफको पहिलो क्वालिफायरमा मंगलबार साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५:०० बजे सुरु हुने यस ‘ब्लकबस्टर’ भिडन्तको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स लिग चरणमा ११ अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको हो भने दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो।
लुम्बिनीका लागि मंगलबारको खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्दै ‘जितको ह्याट्रिक’ पूरा गर्ने सुनौलो अवसर हो। पछिल्ला दुई भेटमा लुम्बिनी सुदूरपश्चिममाथि पूर्ण रूपमा हाबी देखिएको छ।
गत संस्करणको उपाधि भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गर्दै ६ विकेटको सानदार जितसहित उपाधि उचालेको थियो। त्यस्तै, जारी संस्करणको पहिलो खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ८७ रनमै समेट्दै ७ विकेटको सहज जित निकालेको थियो। लगातार दुई खेलमा सुदूरपश्चिमलाई १०० रनको आँकडा पार गर्न नदिएको लुम्बिनी उच्च मनोबल र जितको लय कायम राख्ने रणनीतिमा छ।
यता, पहिलो र दोस्रो दुवै संस्करणको फाइनलमा पुगेर उपाधिबाट चुकेको सुदूरपश्चिम यसपटक त्यो पीडा बिर्साउने दृढ संकल्पका साथ मैदान उत्रँदैछ। लगातार तीनै सिजन पहिलो क्वालिफायर खेल्ने कीर्तिमान बनाएको सुदूरपश्चिमले प्लेअफका लागि स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मुन्सीलाई समेत टोलीमा भित्र्याइसकेको छ। ब्रान्डन म्याकमुलेन स्वदेश फर्किएपछि भित्र्याइएका मुन्सीको आगमनले सुदूरपश्चिमको ब्याटिङ लाइनअप थप मजबुत हुने अपेक्षा गरिएको छ।
एनपीएल इतिहासमा यी दुई टोलीबीच हालसम्म भएका ४ भेटमा दुवैले २–२ खेल जितेका छन्। सुरुवाती सिजनमा सुदूरपश्चिम हाबी रहे पनि पछिल्ला खेलमा लुम्बिनीले उत्कृष्ट पुनरागमन गरेको छ। मंगलबारको खेलमा पराजित हुने टोलीले पनि फाइनल पुग्ने अर्को अवसर पाउनेछ। पराजित टोलीले तेस्रो स्थानको टोली र चौथो स्थानको टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।













