हेटौंडा / नेकपा एमाले मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखक को पक्राउप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ। पार्टीले यस घटनालाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको परिणामका रूपमा व्याख्या गरेको छ।
भदौ २३ र २४ गते ‘जेन्जी’को नाममा भएको आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुअघि नै गरिएको पक्राउले कानूनी प्रक्रिया मिचिएको एमाले मकवानपुरको ठहर छ। आयोगको निष्कर्ष नआउँदै गरिएको यस्तो कदमले न्यायिक निष्पक्षतामाथि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीका कार्यबाहक अध्यक्ष हिदम लामाद्वारा जारी प्रेस विज्ञप्तिमा पक्राउ प्रक्रिया गैरसंवैधानिक र गैरकानूनी भएको दाबी गरिएको छ। “पूर्जीको दुरुपयोग गर्दै गरिएको गिरफ्तारीले कानूनी राज्यको अवधारणामाथि नै प्रहार गरेको छ,” विज्ञप्तिमा भनिएको छ।
एमाले मकवानपुरले केपी शर्मा ओली को अविलम्ब रिहाइको माग गर्दै सरकारको कदमले देशलाई थप द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएको छ। साथै, निष्पक्ष छानबिन प्रक्रिया पूरा नगरी गरिएका यस्ता कार्यले राजनीतिक अस्थिरता बढाउने निष्कर्ष पनि पार्टीले निकालेको छ।















