हेटौंडा/ (बर्ड फ्लु) को जोखिम बढ्दै गएपछि मकवानपुरका कुखुरापालक किसान तथा व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो समय मोरंग जिल्ला र चितवन जिल्ला मा बर्ड फ्लु पुष्टि भइसकेकोले छिमेकी मकवानपुर जिल्ला समेत उच्च जोखिममा परेको पशु सेवा कार्यालयले जनाएको छ।
पशु सेवा कार्यालय, मकवानपुरका अनुसार बर्ड फ्लु Avian Influenza Virus बाट फैलिने अत्यन्त संक्रामक रोग हो, जसले कुखुरा, हाँस, टर्की लगायतका पन्छीहरूमा तीव्र रूपमा संक्रमण फैलाएर ठूलो क्षति पुर्याउन सक्छ।
कार्यालयले संक्रमण नियन्त्रणका लागि फार्म व्यवस्थापनमा कडाइ गर्न किसानहरूलाई सुझाव दिएको छ। फार्मभित्र अनावश्यक व्यक्ति तथा सवारी साधन प्रवेशमा रोक लगाउने, प्रवेशपूर्व अनिवार्य निःसंक्रमण गर्ने, एउटै व्यक्तिले धेरै फार्ममा काम नगर्ने तथा प्रयोग भइसकेका सामग्री पुनः प्रयोग नगर्न विशेष जोड दिइएको छ।
त्यसैगरी, खोर प्रवेशद्वारमा फुटबाथ (चुना वा निःसंक्रामक औषधि) प्रयोग गर्ने, छुट्टै बुट र एप्रोन लगाउने, दैनिक सरसफाइ तथा निःसंक्रमण गर्ने र अन्य जनावरहरूको प्रवेश रोक्ने व्यवस्था मिलाउनुपर्ने बताइएको छ।
मरेका पन्छीलाई सुरक्षित तरिकाले गाड्ने, कामदारहरूले व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने पनि कार्यालयले स्पष्ट पारेको छ।
यदि कुनै फार्ममा एक्कासी धेरै पन्छी बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
पशु सेवा कार्यालय, मकवानपुरका डाक्टर तथा प्रमुख राम प्रकाश प्रधानले समयमै सावधानी अपनाएमा रोगको फैलावट नियन्त्रण गर्न सकिने बताएका छन्।
















