कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गतको पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
फाइनल प्रवेशका लागि निर्णायक मानिएको यस डे–नाइट (फ्लडलाइट) खेलमा विजेता टोलीले सोझै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्ने अर्को अवसर पाउनेछ।
लिग चरणको समाप्तिसँगै ११ अंकसहित शीर्ष स्थानमा रहँदै साविक विजेता लुम्बिनी लायन्सले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। त्यस्तै, १० अंक जोडेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो।
आजको खेलका लागि दुवै टोलीको प्लेइङ–११ सार्वजनिक भइसकेको छ: सुदूरपश्चिम रोयल्सको प्लेइङ–११: दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, जर्ज मुन्से, थानुका दाबारे, स्कट कुगेलेइन, हेमन्त धामी, अविनाश बोहरा, अनिल खरेल र थरिन्दु रत्नायके।
लुम्बिनी लायन्सको प्लेइङ–११: रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, सन्दीप जोरा, दिलीप नाथ, निरोशन डिकवेला, डी’आर्सी सर्ट, अली शेख, शेर मल्ल, किशोर महतो, अभिषेक गौतम र रुबेन ट्रम्पेलम्यान।
यसअघि एनपीएलको इतिहासमा यी दुई टोली चार पटक आमनेसामने हुँदा दुवैले समान २–२ खेल जितेका छन्। यद्यपि, सिजन–२ को फाइनल र जारी सिजन–३ को उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिममाथि लगातार जित निकाल्दै मनोवैज्ञानिक अग्रता बनाएको छ। आज सुदूरपश्चिम अघिल्ला हारको बदला लिँदै तेस्रो पटक फाइनल पुग्ने दाउमा मैदान उत्रिएको छ।














