हेटौंडा / हेटौंडा–४ स्कुल रोडस्थित भुटनदेवी माध्यमिक विद्यालय अगाडि सञ्चालनमा आएको ‘रौतहट कटिया हाउस’ ले हेटौंडाको खानपान बजारमा नयाँ स्वाद थपेको छ।
स्थानीय बजारमा फरक परिकारको अभाव महसुस भइरहेका बेला रौतहटको परम्परागत कटिया परिकार भित्रिएसँगै ग्राहकहरूको आकर्षण बढ्न थालेको व्यवसायीहरू बताउँछन्। विशेषगरी मटन कटिया यस कटिया हाउसको मुख्य परिकारको रूपमा प्रस्तुत गरिएको छ।
कटिया हाउसका सञ्चालक आश नारायण साह का अनुसार यहाँ मटन कटिया बाहेक माछा, सेकुवा, तास फ्राइ, परौठा, सुख्खा रोटी, तरकारी, नास्ता तथा मटका चिया उपलब्ध छन्। “ग्राहकको माग अनुसार अर्डरमा पनि खाना तयार गरिन्छ,” उनले भने।
उनका अनुसार हेटौंडामा कटियाको मौलिक स्वाद दिने यो पहिलो प्रयास हो। यसले स्थानीय खाद्य संस्कृतिमा विविधता ल्याउनुका साथै नयाँ व्यवसायिक सम्भावना पनि सिर्जना गर्ने विश्वास गरिएको छ।
भुटनदेवी स्कुल अगाडि रहेको ढकाल खाना तथा नास्ता घर परिसरमा सञ्चालन भइरहेको उक्त कटिया हाउसले हेटौंडा बासिन्दा तथा बाहिरबाट आउने पाहुनालाई रौतहटको मौलिक स्वाद चाख्न निम्तो दिएको छ।















