ड्राइभिङ लाइसेन्स ट्रायलमा पारदर्शिता माग गर्दै हेटौडामा ज्ञापनपत्र

Image

हेटौंडा / मकवानपुरको हेटौडास्थित यातायात व्यवस्था कार्यालयमा ड्राइभिङ लाइसेन्स ट्रायल परीक्षण प्रक्रियामा पारदर्शिता कायम गर्न माग गर्दै “सेवा, सहयोग र आवाजमा हामी (SSAH)” ले ज्ञापनपत्र बुझाएको छ।

संस्थाका अध्यक्ष विशाल राज महत् नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा ट्रायल परीक्षणस्थलमा जडान गरिएका सीसी क्यामराको फुटेज कर्मचारीले मात्र हेर्न पाउने तथा सेवाग्राहीले हेर्न शुल्क तिर्नुपर्ने प्रावधानप्रति आपत्ति जनाइएको छ। यस्तो व्यवस्थाले पारदर्शितामा कमी ल्याउने र अनियमितता तथा मनपरी हुन सक्ने सम्भावना बढाएको उनीहरूको भनाइ छ।

संस्थाले सीसी क्यामराको लाइभ दृश्य सेवाग्राहीले समेत प्रत्यक्ष रूपमा हेर्न पाउने व्यवस्था मिलाउन सार्वजनिक स्थानमा मोनिटर जडान गर्न माग गरेको छ। साथै, फुटेज हेर्न कुनै शुल्क नलाग्ने व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा नेपालको संविधान २०७२ को धारा २७ अनुसार नागरिकको सूचनाको हक सुनिश्चित गरिएको उल्लेख गर्दै हालको प्रावधानले उक्त मौलिक हकको उल्लंघन गरेको दाबी गरिएको छ। त्यसैगरी, सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक सेवामा पारदर्शिता अनिवार्य भएको पनि स्मरण गराइएको छ।

यसका अतिरिक्त, ट्रायल परीक्षणका क्रममा सेवाग्राहीलाई आफ्नै साधन प्रयोग गर्न नदिने प्रावधान हटाउन पनि माग गरिएको छ। सेवाग्राही आफ्नै सवारी साधनमा अभ्यस्त हुने भएकाले परीक्षणलाई यथार्थपरक र निष्पक्ष बनाउन यस्तो व्यवस्था आवश्यक रहेको संस्थाको भनाइ छ।

त्यसैगरी, निवेदन स्वयं लेख्न चाहने सेवाग्राहीका लागि आवश्यक टिकट सहज रूपमा उपलब्ध गराउन कार्यालय परिसरमै टिकट काउन्टर स्थापना गर्नुपर्ने माग पनि गरिएको छ।

संस्थाले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।