हेटौंडा/मकवानपुर — राक्सिराङ गाउँपालिका ले ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित सञ्चालन गरेको बृहत् एकीकृत घुम्ती शिविर वडा नम्बर ७ स्थित श्री आधारभूत विद्यालय जुरेथुम मा सम्पन्न भएको छ। नागरिकलाई स्थानीय तहका सेवा सहज रूपमा घरदैलोमै उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा लगायतका सेवा एकै स्थानबाट प्रदान गरिएको थियो।
कृषि तथा पशुपन्छी सेवातर्फ १५३ जना कृषकलाई घाँसको बिउ तथा औषधि र १६० जनालाई तरकारीको बिउ वितरण गरिएको छ भने करिब साढे २ क्विन्टल मकैको बिउ समेत उपलब्ध गराइएको जनाइएको छ। कृषकलाई उत्पादन वृद्धि र आधुनिकीकरणमा टेवा पुर्याउने उद्देश्यले ४ थान मिनि टिलर, ५ थान स्प्रे पम्प र ५ थान ग्रीन नेटसमेत वितरण गरिएको छ।

स्वास्थ्य सेवातर्फ आयुर्वेद शाखाबाट २५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो भने अन्य स्वास्थ्य सेवाबाट १७८ जनाले परीक्षण गराई लाभ लिएका छन्। सामाजिक सुरक्षाअन्तर्गत १ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ। विपद् प्रभावितलाई राहतस्वरूप आगलागी तथा हुरीबतासबाट प्रभावित ४ घरधुरीलाई ८ बन्डल जस्तापाता वितरण गरिएको छ। साथै, ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको र २५ जनालाई पोषण तथा सरसफाइ सामग्री प्रदान गरिएको छ।
न्यायिक समिति अन्तर्गत लैंगिक तथा घरेलु हिंसा तथा कानुनी उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। शिक्षा क्षेत्रतर्फ ‘एक विद्यालय, एक ल्यापटप’ कार्यक्रम अन्तर्गत २ वटा ल्यापटप र ४ वटा प्रिन्टर वितरण गरिएको छ भने राष्ट्रिय मावि सिलिंगे मा पुस्तकालय उद्घाटन गरिएको छ।
लघु उद्यम प्रवर्द्धनतर्फ मौरीपालन प्रविधि १ जनालाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, संविधान सभा सदस्य गोबिन्द राम चेपाङ्ग, प्रशासकीय प्रमुख सन्देश मास्के, वडा नम्बर ६ का वडा अध्यक्ष अक्कल बहादुर मुक्तान तथा वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर प्रजा लगायतको आतिथ्यता रहेको थियो।

















