टिष्टुङमा ट्रक दुर्घटना, चालक सामान्य घाइते, राजमार्ग अवरुद्ध

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङ स्थित त्रिभुवन राजपथमा आज बिहान ट्रक दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन् भने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रकको अगाडिको दाहिने साइडको पट्टा भाँचिन जाँदा ट्रक अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मौवाखोला बस्ने अन्दाजी २७ वर्षीय धुर्व घले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टाको पौतालामा चोट लागी सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ। दुर्घटनाग्रस्त ट्रकका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।