पारदर्शिता र सहभागितामा जोड: निर्मल माविको अभिभावक भेला मार्फत नीति, कार्यक्रम र आय–व्यय सार्वजनिक

Image

हेटौंडा/ मकवानपुरको हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयले अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै पारदर्शिता र सहभागितालाई प्राथमिकता दिएको छ। विद्यालयमा आयोजित ५०औँ वार्षिक अभिभावक भेलामा शैक्षिक नीति, कार्यक्रम तथा आय–व्यय सार्वजनिक गर्दै अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पूर्व अध्यक्ष इन्दिरा तामाङसहित विभिन्न व्यवस्थापन समिति सदस्यहरूको उपस्थिति रहेको थियो।

भेलामा प्रधानाध्यापक प्रबोध बिडारीले चालु शैक्षिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र आय–व्यय विवरण प्रस्तुत गर्दै पारदर्शितालाई संस्थागत बनाउने प्रयास गरिएको बताए। साथै आगामी शैक्षिक वर्ष २०८२/८३ का योजनाहरू प्रस्तुत गर्दै विद्यालयको गुणस्तर अभिवृद्धिमा अभिभावकको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीले स्वर्ण महोत्सवको आय–व्यय प्रतिवेदन सार्वजनिक गरेका थिए, जसले विद्यालयका गतिविधिमा आर्थिक पारदर्शिताको अभ्यासलाई थप बलियो बनाएको छ। स्वर्ण महोत्सवमा कुल ६८ लाख ३० हजार २ सय ४९ रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । स्वर्ण महोत्सवको अवसरमा व्यक्तिगत सहयोगबाट २२ लाख १६ हजार २ सय ६९ रुपैयाँ विद्यालयलाई प्राप्त भएको थियो ।

स्वर्गीय व्यक्तिको सम्झनामा २ लाख २ हजार ८ सय ७ रुपैयाँ, स्थानीय निकाय, फर्म तथा संघसंस्थाबाट ३२ लाख ५७ हजार ३ सय १६ रुपैयाँ र स्मारिका विज्ञापनबाट १ लाख १० हजार रुपैयाँ विद्यालयलाई आम्दानी भएको थियो । विद्यालयले कुल १० लाख ४३ हजार ८ सय ५७ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष ओलीले बताउनुभयो ।

यसै अवसरमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै अन्जना बस्नेतको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गर्दै विद्यालय–अभिभावक सहकार्यलाई अझ सुदृढ बनाउने प्रयास गरिएको छ।

कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक सुनिल लामाले व्यक्त गरेका थिए भने कार्यक्रमको समापन पूर्व अध्यक्ष इन्द्रिया लामाले मन्तव्य व्यक्त गर्दै गरेका थिए।