हेटौंडा/ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, मकवानपुरको दोस्रो वार्षिक भेला हेटौंडामा सम्पन्न भएको छ। भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै संगठनको नेतृत्व हस्तान्तरण गरेको छ।
हेटौंडा–२ स्थित वनस्खण्डीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष जितेन नेपालीले सभाध्यक्षको भूमिका निर्वाह गर्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुभयो। उहाँले संघलाई अझ सशक्त, संगठित र व्यवसायीमैत्री बनाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
भेलाबाट अमृता श्रेष्ठ बलामी अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा अफताब आलम, सचिवमा मनोज परियार र कोषाध्यक्षमा निष्मा श्रेष्ठ चयन हुनुभएको छ। सदस्यहरूमा मनकृष्ण परियार, उमर फारूख अंसारी र सर्मिला वाईवा रहनुभएको छ।
कार्यक्रममा सिलाई महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले व्यवसायीहरूको हकहित संरक्षण, समस्या समाधान तथा व्यवसाय प्रवर्द्धनमा महासंघ निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौं नेपाल कपडा तथा सिलाई व्यवसायी संघका जिल्ला अध्यक्ष उद्धब थापाको पनि उपस्थिति रहेको थियो। उहाँले पनि मकवानपुर जिल्लाका सिलाई व्यवसायी हरुलाई साथ सहयोग गर्ने बताउनुभयो।
यसैगरी कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायीसंघ चितवन जिल्लाका अध्यक्ष रामबाबु पुडासैनीको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै पुडासैनीले मकवानपुर जिल्लाका व्यवसायीहरु संगै हातमा हात साथमा साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा संघका जेष्ठ सदस्यहरू विष्णुलाल महर्जन र सुनिता नकर्मीलाई सम्मान गरिएको थियो। कार्यक्रम नयाँ नेतृत्व चयनसँगै संघलाई थप सशक्त, संगठित र व्यवसायीमैत्री बनाउने लक्ष्यसहित सम्पन्न भएको निवर्तमान अध्यक्ष जितेन नेपालीले बताउनुभयो।
















